थबाङ गाउँपालिकाका ७ जना कर्मचारी सम्पर्कविहीन, खोजी गर्दै पालिकाले निकाल्यो सूचना


रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी मंगलबारदेखि सम्पर्कविहीन भएको जानकारी दिएका हुन् ।
सम्पर्कविहीन कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर सहित हरिस माझी (सहायक प्रशासन पाँचौँ), यज्ञ प्रसाद कँडेल (सह–लेखापाल), चन्द्र प्रकाश ओली (सब–इञ्जिनियर), निशा आचार्य (सब–इञ्जिनियर) रहेका छन् । त्यस्तै शिवकुमार वली (खा.पा.स.टे) र प्रदीप के.सी.(सवारी चालक) सम्पर्कविहीन भएका हुन् ।
अध्यक्ष बुढामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाल प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन अनुरोध छ ।’