Ad Image

कफीका बिरुवा बेचेरे मनग्य आम्दानी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Coffiee Nursery1.jpg

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीका बिरुवा बिक्रीबाट यस वर्ष १३ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

पाँच वर्षअघि ’वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राईले यस वर्ष ४५ हजार कफीका बिरुवा प्रतिगोटा ३० रुपैयाँका दरले बिक्री गरेका हुन् ।

फेवाखोला नजिकै पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका राईको नर्सरीबाट इलामसँगै सङ्खुवासभा, भोजपुर र भारतको सिक्किमसम्म बिरुवा जाने गरेको छ । उनका अनुसार, कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखिएको हो ।

राईको नर्सरीमा कफीका साथै लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिस लगायतका वनपैदावार र आँप, लिची, कटहर जस्ता फलफूलका बिरुवा पनि उत्पादन हुन्छन्, जुन प्रतिगोटा ४० रुपैयाँमा बिक्री हुन्छ ।

कोशी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र इलाममार्फत दुई वर्षअघि नर्सरी प्रवद्र्धनका लागि लागत साझेदारीमा २ लाख रुपैयाँ अनुदान पनि प्राप्त भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार, इलाममा हाल १३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।