कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना: २९ घाइते, ३ जनाको अवस्था गम्भीर

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान भएको बस दुर्घटनामा २९ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार, बसमा कुल ३० जना यात्रु सवार थिए। घाइते भएका सबै २९ जनाको पहिचान भइसकेको छ ।
उनीहरूलाई उद्धार गरी सुरुमा संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएकोमा केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ, भने २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।
दुर्घटनाका कारण सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ र दुर्घटनाग्रस्त बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।