घुस अडियो प्रकरणमा रञ्जिता श्रेष्ठमाथि अख्तियारले लियाे बयान


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।
मालपोत कार्यालय कास्कीका प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा उनको संलग्नता भेटिएपछि अख्तियारले उनलाई बयानका लागि झिकाएको हो ।
अख्तियार स्रोतका अनुसार, बिहान १० बजेदेखि श्रेष्ठसँग सोधपुछ सुरु भएको छ । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्र्याकिङ गर्दा अख्तियारको अनुसन्धान टोलीले केही शंकास्पद कल र म्यासेजहरू फेला पारेको थियो ।
‘त्यही सिलसिलामा हेर्दा तत्कालीन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो,’ अख्तियार स्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको पीएसओको मोबाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो।’