मुख्यमन्त्री लामाले दिए पदबाट राजीनामा


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत उनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रमुख उपस्थित नभएकाले उनले भोलि मात्र राजीनामा पत्र बुझाउने जानकारी दिएका छन् । गत साउन १४ गते पार्टी संसदीय दलको नेतामा पराजित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले राजनीतिक मूल्य र मान्यता स्थापित गर्न तथा पार्टी सभापतिको आग्रहमा राजीनामा दिएको बताए । उनले नवनिर्वाचित संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यद्यपि, उनले प्रदेश सरकार ढाल्ने ’षड्यन्त्र र प्रपञ्च’ले स्थिरतामाथि प्रश्न उठाएको बताए । उनले यस्ता घटनाले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशङ्का जन्माएको टिप्पणी गरे ।
लामाले भने, ‘संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो, तर पार्टीभित्रको बृहत्तर छलफलपछि विधि, पद्धति र मूल्य स्थापित गर्न राजीनामा दिएको हुँ।’