घुससहित पक्राउ परेका कर्मचारी गिरी एमालेबाट निलम्बित


पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ परेपछि नेकपा एमालेले पार्टीबाट निलम्बन गरेको छ ।
एमालेको प्रदेश कमिटी बैठकले यो निर्णय गरेको हो । निजामती कर्मचारीले पार्टी सदस्यता लिन नपाउने भए पनि उनले ‘के गिरी’ नामबाट सदस्यता लिएका थिए र उनी हाल पार्टीको प्रदेश उद्योग तथा वाणिज्य विभाग सदस्य थिए।
गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ’फेक’ उजुरी बनाएर आफ्नै कार्यालयका कर्मचारीसँग घुस लिएको आरोपमा गत चैत ७ गते पक्राउ परेका थिए ।
यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री (हाल राजीनामा) राजकुमार गुप्तासँग लिचीबगैँचा हत्याउन दलाली गरेको आरोपमा पार्टीका अर्का सदस्य सुजन लामालाई पनि निलम्बन गरिएको छ ।
एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माका अनुसार, दुवैको मुद्दा अख्तियारमा विचाराधीन रहेसम्म यो कारबाही यथावत् रहनेछ । यदि उनीहरूले सफाइ पाएमा मात्र जिम्मेवारीमा फर्कन सक्नेछन् ।