तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष बस्नेत पक्राउ


काठमाडौं । काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादका क्रममा झडप भएपछि परेको किटानी जाहेरीका आधारमा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले जाहेरी दिएपछि वडाध्यक्ष बस्नेत पक्राउ परेका हुन् ।
गत असार २३ गते तारकेश्वर ११ र काठमाडौं महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा झडप भएको थियो । वडाध्यक्ष बस्नेतविरुद्ध जाहेरी परेपछि
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि वडाध्यक्ष बस्नेत मंगलवार जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर भएका हुन् । उनको बयान लिने लगायत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रर्दशन गर्दा झडप भएको थियो । झडपका क्रममा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेका छन् ।
Facebook Comments