संसदमा रुपा साेशी चौधरीको प्रश्न–सुरक्षा घेरा भित्रै कैदीबीच झडप हुँदा कारागारा प्रशासन किन मौन बस्यो ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रुपा साेशी चौधरीले कैलाली जिल्ला कारागारमा भएको लज्जास्पद घटनाको निष्पक्ष छानबिन गरी कारागार व्यवस्थापनलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । “सुरक्षा निकायको घेरामा रहने बन्दीले झडप गर्दा किन कारागारा प्रशासन मौन बस्यो ?”, उनले प्रश्न गरिन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताए ।
“जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु”, सांसद विश्वकर्माले भने । उनले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउँदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानमा राज्यले करोडौँ रुपैयाँ खर्च गरे पनि अझै सो समस्या सम्बोधन नभएको उल्लेख गर्दै पीडितका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले तराई मधेसको रुपान्तरणकारी आयोजनाका रुपमा रहेको हुलाकी राजमार्गको बाँकी काम शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। कांग्रेस सांसद सञ्जय गौतम र सांसद मैना कार्कीले भारतको उत्तराखण्ड क्षेत्रमा गएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजीमा गम्भीर बन्न सरकारको ध्यानार्षण गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले मनसुनी वर्षाका कारण नुवाकोटको सूर्यगढी गाउँपालिकाको १२८ घर परिवार जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ‘इको पहिरो’ले अरनिको राजमार्ग अवरुद्ध हुनाका साथै १२ घर र एउटा गुम्बा उच्च जोखिममा परेको उल्लेख गर्दै पहिरो रोक्न र बस्ती जोगाउन सरकारले उचित कदम चालोस् भने ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सल्यानको छत्रेश्वरी गाउँपालिकामा महायज्ञ तयारी बैठकमा दलित र जनजातिमाथि अपमान गरिएको तथा त्यसको प्रतिवाद गर्ने सामाजिक अभियान्ता शारदा परियारलाई सामाजिक बहिष्कार गर्ने धम्की दिनेलाई तत्काल कारबाही गर्न माग गरे।
माओवादी केन्द्रका सांसद उर्मिला माझीले लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाबाट सञ्चालक ‘मालामाल’ हुने र जनता गरिबीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । माओवादी केन्द्रका सांसद सूर्यमान दोङले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ का वडाध्यक्ष र वडा सदस्य मिलेर स्थानीय युवामाथि कुटपिट गरेको घटनाको छानबिन गर्न आग्रह गरे।
माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले कास्कीमा सुनचाँदी कालीगढमाथि प्रहरीबाट भएको ज्यादतीको निष्पक्ष छानबिन गर्न माग गर्दै सोमा संलग्नलाई कारबाही गरी व्यवसायीलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
Facebook Comments