भीडको पछि लागेर न्यायको ह*त्या गर्नु हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्तिहरूलाई लक्षित गर्दै ‘भीडको पछि लागेर न्यायको हत्या गर्नु’ उचित नभएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उनले एक व्यक्तिमाथि मात्रै ‘राजनीतिक प्रतिशोध’ भएको भाष्य बनाउनु न्यायको अवमूल्यन भएको बताए ।
‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारबाही हो?’ उनले प्रश्न गरे ।
अर्बौं रुपैयाँ अपचलनको आरोपमा सयौं व्यक्ति थुनामा हुँदा एक जनालाई मात्रै लक्षित गरी संसद् अवरुद्ध गर्नु अनुचित भएको उनको भनाइ छ।
ओलीले स्वतन्त्र न्यायालयको निर्णयमा सरकारको हात नहुने स्पष्ट पार्दै संसद्, सरकार र न्यायालयलाई ‘मास म्यानुपुलेसन’ बाट जोगाउनुपर्नेमा जोड दिए ।
उनले अहिलेको सरकारको मुख्य उद्देश्य विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र नीतिगत स्थिरता कायम गर्ने रहेको बताए ।
उनले संसद्मा उठाइएका कतिपय विषय राष्ट्रिय प्राथमिकतामा आधारित नभएको भन्दै सदनलाई ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि सामग्री उत्पादन गर्ने थलो बनाउने प्रयास भइरहेको आरोप लगाए ।
फरक प्रसङ्गमा उनले अहिलेको राजनीतिक समीकरण आगामी ०८४ सालको निर्वाचनसम्म जारी रहने पुनः स्पष्ट पारेका छन् । उनले अस्थिरताको चाहना भए पनि आफूहरू प्रणालीको रक्षाका लागि दृढ रहेको बताए ।
Facebook Comments