किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानकर्षण


काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।
सांसद भिमप्रसाद आचार्यले भने, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ ? समयमा यसको व्यवस्थापन किन गरिँदैन ? यसको सम्बोधन हुनुपर्छ ।”।
सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले लम्पी स्किन रोगले देशभर वस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।
सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।
Facebook Comments