बजेट अभावले मल खरिद गर्न समस्या भएको कृषिमन्त्रीकाे स्वीकार

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RatnaSherestha-KTM-29RATL0219copy.jpg

काठमाडौ‌ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिदका लागि पर्याप्त बजेट नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले मलमा अत्यधिक अनुदान रहेकाले उपलब्ध बजेटबाट सबै माग सम्बोधन गर्न कठिन भएको जानकारी दिए ।

अधिकारीका अनुसार, हाल युरिया मलमा ८२%, डिएपीमा ८४% र पोटासमा ४९% अनुदान रहेको छ । उनले वार्षिक १३ लाख टन मलको माग रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको बताए ।

खरिद गरिएको मलको ९०% वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको मन्त्रीले जानकारी दिए । उनले आफू मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकता दिएर काम गरिरहेको दाबी गरे ।

मन्त्री अधिकारीले मलको आपूर्ति र वितरणलाई सहज बनाउन कानुनी तथा प्रक्रियागत कामलाई सरलीकरण गरिएको र समयमा मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा पनि उचित व्यवस्था गरिएको धारणा राखे ।


Facebook Comments