ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला बैंकका ग्राहकलाई गैर–कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला बैंकका ग्राहकलाई लेटर अफ क्रेडिट, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ लगायतका सेवा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउनेछ ।
ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२४ मा नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मानित भइसकेको छ ।
मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको यो बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र छन् ।
साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकलगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटिएममार्फत सेवा दिइरहेको छ ।
Facebook Comments