पर्यटन विभागका पूर्व निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
यादवले गैरकानूनी रूपमा ९६ लाख ८५ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको अवधिमा यादवले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी वैध आम्दानी गरेका थिए । तर सोही अवधिमा उनले ३ करोड ६५ लाख रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको छ ।
यसरी करिब ९६ लाख ८५ हजार रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले अख्तियारले यादवले पदीय दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
आयोगले यादवलाई कैद र बिगो बराबरको जरिवानाको मागदाबी गरेको छ । साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति उनकी पत्नी आशा कुमारी यादवको नाममा राखिएको पाइएकाले उनीविरुद्ध पनि सम्पत्ति जफतका लागि आरोपपत्र दायर गरिएको छ ।
Facebook Comments