‘व्याकुल माइला’ बनेर ठगी गर्ने मिलन राई पक्राउ


काठमाडौं । आफूलाई नेपालको राष्ट्रगानका रचयिता ‘व्याकुल माइला’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति उदयपुरको बेल्टार निवासी मिलन राई हुन् । उनलाई इटहरी उपमहानगरपालिका परिसरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मिलन राईले राष्ट्रगानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाम दुरुपयोग गरी विभिन्न निकायमा ठगी गर्दै आएको आरोप छ । उनले आफैँले लेखेका पुस्तकहरूलाई ‘व्याकुल माइला’को कृतिको रूपमा बेच्दै आएका थिए ।
बिहीबार उनलाई इटहरी उपमहानगरपालिकामा पुस्तकको भुक्तानी लिन गएका बेला पक्राउ गरिएको हो । राईले यसअघि राष्ट्रपति कार्यालयमा समेत आफू सक्कली सर्जक भएको दाबी गर्दै उजुरी दिएका थिए ।
करिब सात महिनाअघि उनले सभामुख देवराज घिमिरेलाई भेटेर ‘व्याकुल माइला’ले पाउने मासिक भत्ता आफूले पाउनुपर्ने मागसहित निवेदनसमेत दिएका थिए । प्रहरीले उनीमाथि मुद्दा चलाउने तयारी गरेको छ ।
Facebook Comments