युवा संघमा विवाद: माग पुरा नभए समानान्तर कमिटी घोषणा गर्ने असन्तुष्ट पक्षधरको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालमा विवाद बढ्दै गएको छ । संघका इन्चार्ज लक्ष्मण केसीले मनोमानी रुपमा काम गर्दै संगठनलाई ध्वस्त बनाएको आरोप असन्तुष्ट पक्षधरहरुको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट रहेका केसीले मनोमानी रुपमा हस्तक्षेप गरेको भन्दै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल निकटका युवाहरुले समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् ।
युवा संघमा देखिएको विवाद समाधान नगरी पार्टी नेतृत्वले मनोमानी गर्दै आएको असन्तुष्ट पक्षधरको भनाई छ । असन्तुष्ट पक्षधरको नेतृत्व गरिरहेका संजीव राईले आफूहरुले पटक–पटक निर्णय सच्याउन माग गर्दै आएको बताएका छन् । उनले अबको २४ घण्टाभित्रमा आफूहरूको माग सुनुवाइ नभए विधान अनुसार संगठन जोगाउनका निमित्त केन्द्रीय कमिटीको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । उनले २४ घण्टाभित्रमा आफूहरूको माग सुनुवाइ नभए संगठनलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताएका छन् ।
असन्तुष्ट पक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘इन्चार्ज कमरेडले मनोमानी ढंगबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन्, जसको कारण विगत ४ बर्ष अगाडि दक्षिणपन्थ अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा संघ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, जो पार्टी संगठन र युवा संघको काममा निरन्तर अविचलित भई खडा भइरहेको छ । यसरी जो कोहिको राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्याउँदै, संघको विधानको विरुद्ध ९ औं राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यता प्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गर्दछौं ।’
विज्ञप्तीमा थप उल्लेख गरिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत संघको विधानको बलमिचाइ गरिरहेकाले २४ घन्टा भित्र निर्णय नसच्याए, संघलाई गलत दिशाबाट जान रोक्न युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै नसच्याए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रुपान्तरणका लागि संगठनलाई व्यवस्थित गर्दै अगाडि बढाउने कुरा जानकारी गराउँदा छौं ।’
Facebook Comments