बाँके जिल्ला अदालतमा मेलमिलापबाट टुङ्ग्याइँदै मुद्दा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Banke-Adalat-650x457.png

नेपालगञ्ज । बाँके जिल्ला अदालतमा मेलमिलापमार्फत ८० वटा मुद्दाको टुङ्गो लागेको छ । आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका देवानी प्रकृतिका मुद्दाहरू, जसमा लेनदेन, अंशबण्डा, सम्बन्धविच्छेद लगायतका मुद्दाहरू मेलमिलापबाट समाधान भएका हुन् ।

जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आचार्यका अनुसार, मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफलमा पठाइएका मुद्दाको सङ्ख्या १ हजार १८३ छ । त्यसमध्ये ८० वटा मुद्दामा मेलमिलाप सफल भएको र ९० वटामा मेलमिलाप हुन बाँकी रहेको छ । अदालतमा मेलमिलाप हुन सक्ने प्रकृतिका ६ हजार २७ मुद्दा दर्ता भएका थिए भने १ हजार १३ मुद्दा मेलमिलाप हुन सकेनन् ।

अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री बनाउनुपर्नेमा जोड दिँदै कतिपय मुद्दामा गोपनीयताको विषयलाई प्राथमिकता दिनुपर्ने बताए । जिल्ला अदालतमा १७ जना तालिमप्राप्त मेलमिलापकर्ताहरू सूचीकृत छन् ।

आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरेर आएका ३,४३१ र नयाँ दर्ता भएका ४,३७३ गरी कुल ७,८०४ मुद्दामध्ये ४,६८५ मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ । दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका मुद्दाको सङ्ख्या ५३ रहेको छ ।


Facebook Comments