आफू प्रधानमन्त्री बन्नुअघि महाधिवेशन नगर्ने रणनीतिमा देउवा (भिडिओ)


काठमाडौं । देशको सबैभन्दा ठुलो र पुरानो पार्टी नेपाली कांग्रेसको विधान अनुसार यसै वर्ष १५ औँ महाधिवेशन हुनुपर्ने हो । तर सभापति शेरबहादुर देउवाको मुखैमा आएको प्रधानमन्त्री पद फुत्किने डरले महाधिवेशन सारिने भएको छ । १५ औँ महाधिवेशनबाट सभापति देउवा बिदाई हुँदैछन् । विधानत्ः दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाइने भएपछि उनी स्वत्ः नेतृत्वबाट बिदाई हुने भएका हुन् । आफु प्रधानमन्त्री बन्नु अघि नै महाधिवेशन गरिए नेतृत्वमा आफु नहुने र प्रधानमन्त्री हुने ग्यारेन्टी पनि नहुने हुँदा महाधिवेशन धकेल्ने रणनीतिमा उनी लागेका हुन् ।
हालसम्मको अवस्था हेर्दा उनी आफ्नो रणनीतिमा सफल पनि देखिएका छन् । पार्टीभित्र निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने संस्थापन इतर पक्षको निरन्तरको खबरदारीका बाबजुद् देउवा भने निश्चिन्त कानमा तेल हालेर बसेका छन् । केन्द्रीय समितिमा उनको बहुमत छ । संसदीय दलका नेता उनी आफैँ हुन् । त्यहाँ उनको बहुमत नहुने कुरै भएन । कराउनेहरु जति कराएपनि यो वर्ष महाधिवेशन नहुने निश्चित भएको छ । विगतमा पार्टीभित्र विधि, पद्धतीको धेरै कुरा गर्ने र महाधिवेशन समयमै हुनुपर्छ भनेर बुरुक्क बुरुक्क उफ्रिइरहने महामन्त्री गगन थापा पनि महाधिवेशनको सन्दर्भमा जिब्रो चपाउन थालेका छन् ।
उनीपनि महाधिवेशन यसै वर्ष गर्ने पक्षमा देखिएका छैनन् । देउवासँग उनको साँठगाँठको चर्चा चल्न थालेको छ । यसकारण पनि देउवालाई राहत मिलेको छ । आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीसाथ अघि बढेका शेखर कोईराला एउटाको ट्याउँट्याउँले महाधिवेशन समयैमा गराउन सक्ला जस्तो छैन ।
बिधान अनुसार कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ साल मंसिरभित्र हुनुपर्छ । २०७८ मंसिरमा सभापति निर्वाचित शेरबहादुर देउवाको कार्यकाल आगामी २०८२ मंसिरमा सकिनेछ । कांग्रेस बिधानमा हरेक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसको विधानअनुसार १ वर्ष समय थप गर्न पनि सकिन्छ । समय थपियो भने २०८३ मंसिरसम्ममा महाधिवेशन गर्नुपर्छ । संविधानको व्यवस्थाअनुसार अर्को ६ महिना समय थप गर्न पनि सकिन्छ । यसरी हेर्दा देउवाले महाधिवेशन सार्दै सार्दै २०८४ को जेठ महिनासम्म पुर्याउन सक्छन् । उनले चाहेको पनि त्यहीँ हो । त्यसअवधिसम्म आफु प्रधानमन्त्री हुने कुरा त छ नै, सके आम निर्वाचनपनि आफ्नै नेतृत्वमा गरेर आफु अनुकुलका मान्छेहरुलाई सत्ता र शक्तिमा ल्याई विदाई हुने देउवाको चाहानालाई जो कोहीले अनुमान लगाउन सक्छ ।
सत्तारुढ कांग्रेस–एमालेले गत वर्षको असार १७ गते गरेको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली गत वर्ष असार ३० गते प्रधानमन्त्री नियुक्त भए । उनको २ बर्से कार्यकालपछि देउवा प्रधानमन्त्री हुने सहमति दुई पार्टीका बिचमा गरिएको छ । सहमती अनुसार २०८३ साल असार ३० गते पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । देउवा त्यही दिन कुरेर बसेका छन् । जे जे गर्नुपर्ने हो प्रधानमन्त्री भएपछि नै गर्ने उनको रणनीति रहेको छ ।
यता, सत्ता र शक्तिमा भएपछि मात्रै महाधिवेशन गर्ने देउवा रणनीति बुझेका नेता शेखर कोईराला उनलाई कसरी पार्टी सत्ता र राज्यसत्ताबाट विमुख गराउने भनेर तानाबाना बुनिरहेका छन् । उनी देउवालाई शक्तिहिन बनाउन सकिन्छकि भनेर अतिरिक्त सक्रियता देखाइरहेका छन् । कोईराला संसदीय दलमा बहुमत पुराउने कसरतमा छन् ।
विगतमा कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकार हुँदा कांग्रेस–एमाले गठबन्धन सरकार बनाउनुपर्छ भनेर वकालत गर्ने उनी अहिले भने देउवा प्रधानमन्त्री नहुन् भन्ने मनशायबाट प्रेरित भएर वर्तमान गठबन्धन सरकारको विरोध गरिरहेका छन् । देउवा प्रधानमन्त्री बन्न नसक्ने शर्तमा गठबन्धनको विकल्प नै खोजिरहेका छन् । पछिल्लो समय उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटलाई पनि राजनीतिक वृत्तमा सोही रुपमा अथ्र्याइएको छ ।
भिडिओ:
Facebook Comments