विराटनगर पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्–म एमाले नै हुँ, एमाले भएरै राष्ट्रपतिमा निर्वाचित भएको हुँ

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-devi-bhandari-768x375.png

मोरङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को कार्यकर्ता भएको र एमाले भएरै राष्ट्रपतिमा निर्वाचित भएको बताएकी छन् । सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । 

उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने समेत बताइन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।’

उनले आफू नेकपा एमालेको संगठित सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै विराटनगरमै शपथ खाएको समेत जानकारी दिइन् । राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्।

पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा समेत राखिन्। 
 


Facebook Comments