मन्त्री भण्डारीद्वारा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dodhara.jpg

कञ्चनपुर । दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गरेका छन्। 

पश्चिम नेपालको व्यापारको लागि महत्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको मन्त्री भण्डारी र नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आज निरीक्षण गरेका हुन् । 

भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट क्लेरेन्स’ कामको थालनी गरिसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले बताए । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्नुहुन्छ ।”

तीन वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको छ । सुक्खा बन्दरगाहस्थलमा रहेका एक हजार सात सय पाँच वटा रूख हटाएर जमिन खाली गरेपछि भारतीय निर्माण कम्पनीले साइट क्लियरेन्सको काम गरिरहेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट गरिने सुक्खा बन्दरगाहको शिलान्यासको पूर्वसन्ध्यामा निरीक्षण गरिएको हो ।

पहिलो चरणमा २५ हेक्टरमा गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन, सुरक्षा व्यवस्थापन लगायतका संरचना निर्माण गरिने गजुरेलले जानकारी गराए । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेका छन् । 


Facebook Comments