पाकिस्तानमा मनसुनी बाढीका कारण मृ*त्यु हुनेको संख्या ४ सय नाघ्यो

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakistan-flood.jpg

पाकिस्तान । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन् ।

पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार साँझदेखि अहिलेसम्म ३५६ जनाको मृत्यु भएको छ ।

आसपासका क्षेत्रमा दर्जनौं मानिसको मृत्यु भएपछि पछिल्लो पाँच दिनमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको छ । खैबर पख्तुनख्वाको अति प्रभावित दलोरी गाउँमा उद्धारकर्ताहरूले हराइरहेका मानिसहरूको शव फेला पार्ने आशामा माटो र ढुङ्गाको थुप्राहरू खनेर उद्धारप्रयासलाई निरन्तरता दिएका छन् । 

भीषण वर्षाका कारण खोजी कार्य रोकिएको एक दिनपछि उद्धारकर्मीहरूले काम गरिरहेको बेला गाउँलेहरू हेरिरहेका र प्रार्थना गरिरहेका थिए । प्रत्यक्षदर्शीहरूले भनेका छन्, “२० मिनेटभन्दा कम समयमा हाम्रो गाउँ भग्नावशेषमा परिणत भयो।”

– अधिक बर्षा –

धेरै सडक क्षतिग्रस्त भएका छन् जसका कारण उद्धारकर्मीलाई बाढीले क्षति पु¥याएको क्षेत्रमा पुग्न कठिन भएको छ । बाढी प्रभावित क्षेत्रमा फोन नेटवर्क अवरुद्ध भएका कारण सञ्चार पनि कठिन छ । अहिलेसम्मको सबैभन्दा खराब मनसुनी वर्षाबाट जोगिएको पाकिस्तानको दक्षिणी भागमा पनि मङ्गलबारदेखि भारी वर्षा सुरु भएको छ ।

दक्षिणी सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले कमजोर पूर्वाधारका कारण आर्थिक राजधानी कराँचीजस्ता ठूला सहरमा शहरी बाढी आउने डर रहेको बताए । 

कराँचीको भत्किएको पाइप र ढल प्रणालीले वर्षाको पानी धान्न नसकेपछि सडकमा निस्किएको भलका कारण ट्रफिक बढी हुने समयमा चालकहरू सडकमा देखिएका पानीका तालमा फसेका थिए र धेरै इलाकाहरू विद्युत् कटौतीको चपेटामा परेका थिए।

छिमेकी बलुचिस्तान प्रान्तका १५ जिल्लामा पनि वर्षा भइरहेको र सिन्धसँग जोड्ने मुख्य राजमार्ग भारी सवारी साधनका लागि अवरुद्ध भएको प्रान्तीय विपद् अधिकारी मोहम्मद युनिसले जानकारी दिए ।  उनका अनुसार प्रान्तका बढी प्रभावित दुई जिल्लामा ४० देखि ५० घरमा क्षति पुगेको छ ।

एनडीएमएका अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदर मलिकले वर्षा शनिबारसम्म जारी रहने र यो महिनाको अन्त्यसम्ममा पुनः भारी बर्षा हुने बताएका छन् । 

एनडीएमएका अनुसार जुन २६ यता मनसुनी वर्षाका कारण ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने करिब एक हजार भन्दा बढी घाइते भएका छन् । मनसुन सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको छ । 

पाकिस्तानमा सन् २०२२ मा आएको बाढीका कारण पाकिस्तानको एक तिहाइ भूभाग डुबानमा परेको थियो जसका कारण करिब एक हजार ७०० जनाको मृत्यु भएको थियो ।


Facebook Comments