अवैध लत्ताकपडा र मोटरसाइकलसहित एक जना पक्राउ

सिरहा । भारतबाट भन्सार छलेर ल्याइएको अवैध लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले सिरहाबाट नियन्त्रणमा लिएको छ ।
आज बिहान सिरहाको गोलबजार नगरपालिका–६ स्थित गुम्बाचोक नजिकै सशस्त्र प्रहरीको गस्ती टोलीले सुखीपुर नगरपालिका–७ का २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादवसँगै रहेका अर्का एक मोटरसाइकल चालक भने भागेर फरार भएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार, यादवको साथबाट २ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र २ लाख ५० हजार रुपैयाँ बराबरका दुईवटा मोटरसाइकल बरामद गरिएको छ । बरामद भएका सामग्रीको कुल मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीले भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा कडा निगरानी बढाएको छ । पक्राउ परेका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको भण्डारीले जानकारी दिए ।
Facebook Comments