ऊर्जा र आर्थिक विकासमा साउदी–सिरिया समझदारी

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते ०४:५०
Image of https://mayorsap.com/storage/photos/10/68c40e5ae961a.jpeg

एजेन्सी । सिरिया र साउदी अरेबियाबीच भएको समझदारीअनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदानस्वरूप उपलब्ध गराउने  सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

बिहीबार दमास्कसमा दुई देशका ऊर्जा तथा विकास निकायहरूबीच भएको सहमतिअनुसार, यो अनुदान साउदी विकास कोषमार्फत प्रदान गरिनेछ ।

सम्झौतामा साउदी विकास कोषका प्रमुख सुल्तान अब्दुर्रहमान अल–मारशद र सिरियाका ऊर्जा क्षेत्रका प्रमुख मोहम्मद अल–बशीरले हस्ताक्षर गरेका हुन् ।

यस अनुदान सहयोगको निर्देशन साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउद तथा युवराज मोहम्मद बिन सलमानबाट आएको जनाइएको छ ।

साउदी विकास कोषका अनुसार, यो सहयोगले सिरियाका तेल शुद्धीकरण केन्द्रहरूको सञ्चालनमा सघाउने, वित्तीय तथा प्राविधिक स्थायित्वलाई प्रवद्र्धन गर्ने तथा देशको मुख्य आर्थिक क्षेत्रहरूलाई पुनर्जीवित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

कोषले यस कदमलाई सिरियाली जनताप्रतिको साउदी सद्भाव तथा दुई देशबीचको मजबुत सम्बन्धको अभिव्यक्तिको रूपमा चित्रण गरेको छ ।

सिरियाका लागि यो सहयोग ऊर्जा आपूर्तिको सुधार, औद्योगिक पुनर्निर्माण तथा जनताको जीवनस्तर उकास्नेतर्फको साउदी प्रतिबद्धताको प्रतीक मानिएको छ ।


Facebook Comments