संसद विघटनको पक्षमा उभिए माओवादी नेता, राष्ट्रपतिलाई दिए धन्यवाद


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन आवश्यक थियोे भन्ने कुरा जनताले अनुभव गरिरहेका बताए ।
यद्यपि विघटनमा प्रक्रियागत त्रुटि भएको उनको भनाइ छ । उनले भने, ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन् ।’
गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर संकटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अडान र साहसका कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन पुगेको बताए । उनले राष्ट्रपति धन्यवादका पात्र भएको बताएका छन् । माओवादी केन्द्रले भने संवैधानिक व्यवस्था विपरीत विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । गजुरेल भने विघटनको पक्षमा उभिएका हुन् ।
Facebook Comments