मन्त्रीको आकांक्षी बढेपछि मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई सकस

काठमाडौं । मन्त्रीको आकांक्षी बढेपछि आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेपछि सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तायरी थियो । तर जेन–जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।
आज मन्त्रिपरिषद् विस्तार गर्ने भन्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरुको नाम चर्चामा आएको थियो । तर साँझसम्ममा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन। आन्तरिक किचलोले गर्दा जेन–जीबीच पछिल्लो समय विवाद बढ्दै गएको छ। आज रिपोर्टर्स क्लबमा दुई समूहबीच हात हालाहाल नै भएको छ।
आफ्ना मान्छे पनि मन्त्री बनाउन भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंदेखि धरानका मेयर हर्क साम्पाङसम्मले भाग खोजेको जेन–जीले बताएका छन् । यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहनिकटलाई पनि मन्त्रीमण्डलमा राख्नुपर्ने बाध्यता छ।
जेन–जीहरूका विभिन्न समूह र टिम भएकाले उनीहरूलाई पनि समावेश गर्नुपर्ने चुनौती छ। यहीकारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइन्छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताको नाम पनि मन्त्री दाबेदारको रुपमा चर्चामा आएको छ । अहिलेसम्मको गृहकार्यमा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मात्रै मन्त्री बन्ने पक्कापक्की छ। आकांक्षी बढी र जेनजीको आन्तरिक विवादले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुने देखिन्छ ।
Facebook Comments