चितवनमा सरकारी कार्यालय जलाउनेहरू नै सरसफाइ गर्न आएपछि रोक लगाइयो


चितवन । जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयहरू जलाउनेहरू नै पछि सरसफाइ गर्न आएपछि चितवन प्रशासनले उनीहरूलाई रोकेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जलाइएका भवनहरूमा कर्मचारी र सुरक्षाकर्मीबाहेक अरूलाई प्रवेश गर्न नदिने निर्णय भएको बताए ।
प्रजिअ अर्यालले भने, ‘जो अघिल्लो दिन भवन जलाउन आए, उनीहरू नै भोलिपल्ट सरसफाइ गर्न सहयोग गर्छौं भन्दै आए ।’ बचेका सामानहरू पनि नष्ट हुन सक्ने जोखिम देखेर उनीहरूलाई रोकिएको उनले स्पष्ट पारे ।
भदौ २४ गतेको प्रदर्शनमा चितवनका अधिकांश सरकारी भवन जलेका थिए । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय जलाएर प्रदर्शनकारीले मालपोत र नापी कार्यालय पनि ध्वस्त पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, क्षति पुर्याउनेहरूको विवरण संकलन भइरहेको छ । प्रहरीले नागरिकलाई आफूसँग भएका भिडिओ र फोटो उपलब्ध गराउन आग्रह गरेको छ ।
जलाउनेहरूले सम्भावित कारबाहीबाट जोगिन सरसफाई गर्न आएको हुन सक्ने उनको भनाइ छ । यसैबीच, प्रहरीले आन्दोलनका क्रममा हराएको एक हतियार राख्ने व्यक्ति नजिक पुगेको र छिट्टै नियन्त्रणमा लिइने जनाएको छ ।
Facebook Comments