लहानमा विपन्नलाई खानेपानी, दशैंअघि नै धारा जडान हुने


सिरहा । सिरहाको लहान नगरपालिकाले सुकुम्बासी र विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज थप ५५ सुकुम्बासी परिवारलाई धारा जडानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
‘वाटर एड’ नेपालको आर्थिक सहयोगमा नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लबको साझेदारीमा सञ्चालित ’विकन परियोजना’ अन्तर्गत यो अभियान चलिरहेको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले दशैँ अगाडि नै अधिकांश घरमा धारा जडान गरिसक्ने जानकारी दिए । यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका र एक जना लालपुर्जा भएका गरी कुल ५५ परिवार लाभान्वित हुनेछन् ।
गत वर्षदेखि चलिरहेको यस अभियानअन्तर्गत हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ । नगरपालिकाले वीरगञ्जमा देखिएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै शुद्ध पानीको आवश्यकतामा जोड दिएको छ ।
नेपाल खानेपानी संस्थानका वितरण प्रमुख लट्टु यादवका अनुसार, सुकुम्बासी परिवारले ३ हजार १२० रुपैयाँ मात्र तिरेर धारा जडान गर्न सक्छन्, जसमा नगरपालिका र परियोजनाले अनुदान उपलब्ध गराउँछन् ।
Facebook Comments