‘जेनजी’ आन्दोलन : दार्चुलामा आठ कार्यालयमा क्षति, विवरण संकलन हुँदै


दार्चुला । दार्चुलामा ‘जेनजी’ आन्दोलनका क्रममा आठवटा सरकारी र गैरसरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, हालसम्म क्षतिको पूर्ण विवरण भने संकलन भइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले दिएको जानकारी अनुसार, भदौ २४ गतेको प्रदर्शनका क्रममा जिल्लाका तीनवटा राजनीतिक दलका पार्टी कार्यालय, दुईवटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति भएको छ ।
६५ हजार रुपैयाँ नगदसहित सम्पूर्ण जिन्सी र नेपाली कांग्रेसको पार्टी कार्यालय नष्ट भएको छ, भने नेकपा एमालेको कार्यालयमा कम्प्युटर र अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ ।
नेकपा माओवादी केन्द्रको सहिद प्रतिष्ठानमा करिब ९९ हजार रुपैयाँ बराबरको क्षति भएको छ, भने जिल्ला कारागार कार्यालयका दुईवटा सीसी क्यामेरासहित करिब ५१ हजार ५ सय रुपैयाँको क्षति भएको छ ।
दुहुँ गाउँपालिका–३ को वडा कार्यालयमा आगजनीबाट ७२ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ, भने शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोडबाट सम्पूर्ण सामान नष्ट भए पनि क्षतिको रकम खुलाइएको छैन ।
गोकुलेश्वर अस्पताल र सामुदायिक रेडियो लोकदर्पणमा क्षति पुगे पनि विस्तृत विवरण आउन बाँकीछ । प्रशासनले अहिले सबै कार्यालयबाट नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ ।
Facebook Comments