दसैँ नजिकिँदै गर्दा भारतबाट घर फर्कने नेपालीको घुइँचो बढ्यो


बैतडी । हिन्दु नेपालीहरूको प्रमुख चाड बडादसैँ नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू स्वदेश फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट घर फर्कनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, भारतसँग जोडिएको बैतडीको झुलाघाट नाकाबाट पछिल्ला केही दिनयता दैनिक ७०–८० जना नेपाली स्वदेश फर्किरहेका छन् । यसअघि यो सङ्ख्या दैनिक १०–१५ जना मात्रै थियो ।
इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख गङ्गाराम टमाटाले दसैँको समयमा सुदूरपश्चिममा कुलदेवताको पूजाआजा, जात्रा र मेला हुने भएकाले धेरै नेपाली घर फर्किने गरेको बताए ।
कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकाबाट पनि स्वदेश भित्रिने क्रम बढिरहेको छ ।
प्रहरीले चाडपर्वलाई लक्षित गर्दै सीमा क्षेत्र, राजमार्ग र मुख्य बजारहरूमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाएको र सहायता कक्षहरू स्थापना गर्ने तयारी भइरहेको जनाएको छ ।
Facebook Comments