‘जेन–जी’ आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणबाट करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त आन्दोलनमा घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताए ।
महासङ्घले सम्मानित वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
अध्यक्ष ढकालले क्षति भएका व्यवसायीलाई कर्जाको पुनर्संरचना, ब्याज सहुलियत, कर छुट, तथा नयाँ संरचना निर्माणका लागि भन्सार शुल्कमा छुट दिनुपर्ने सुझाव दिए ।
साथै, महासङ्घले अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउन तत्काल ’चालु पुँजीकर्जा मार्गदर्शन’ कम्तीमा दुई वर्षका लागि स्थगन गर्नुपर्ने र पुनर्निर्माणमा सहयोग पुर्याउन सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमलाई खर्चका रूपमा देखाउन पाउनुपर्ने माग पनि राखेको छ ।
महासङ्घले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने तयारीमा रहे पनि हालको क्षतिले समस्या उत्पन्न हुन सक्ने भन्दै स्तरोन्नतिको निर्णय तत्काल स्थगित गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गर्नुपर्ने सुझाव दिएको छ ।
Facebook Comments