‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा नेपाल, शृंखला गुमाएको वेस्ट इन्डिज दबाबमा


काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको टी–२०आई शृंखला आज अन्तिम तथा तेस्रो खेलसँगै समाप्त हुँदैछ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा हुने यो निर्णायक खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ ।
लगातार दुई खेलमा शानदार जित निकाल्दै नेपालले तीन खेलको यो ऐतिहासिक शृंखला पहिल्यै आफ्नो नाममा गरिसकेको छ । अब आजको खेल जितेमा नेपालले वेस्ट इन्डिजलाई ‘क्लिन स्वीप’ गर्ने र टेस्ट राष्ट्रविरुद्ध अर्को कीर्तिमानी सफलता हासिल गर्ने लक्ष्य राखेको छ ।
नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको टोली कम अनुभवी युवा खेलाडीहरूले भरिएको छ, जसले गर्दा उनीहरू नेपालसामु निरिह देखिएका छन् । पछिल्ला दुई खेलमा उनीहरूको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन ।
यस शृंखलामा नेपालको उच्च ऊर्जा, सन्तुलित ब्याटिङ र धारिलो बलिङ आक्रमणको अगाडि वेस्ट इन्डिजको अनुभवहीन ब्याटिङ लाइनअप टिक्न सकेन । विशेष गरी, वेस्ट इन्डिजका युवा खेलाडीहरूले दबाबमा राम्रो प्रदर्शन गर्न नसक्दा शृंखला गुमाउन पुगेका हुन् ।
शृंखला गुमाइसकेपछि आजको खेल वेस्ट इन्डिजका लागि प्रतिष्ठाको लडाइँ बनेको छ । टेस्ट राष्ट्रका रूपमा कम अनुभवी नेपाली टोलीमाथि क्लिन स्वीपबाट जोगिने ठूलो दबाब छ । अन्तिम खेलमा उनीहरूले आफ्नो क्षमता देखाउन र शृंखलालाई कम्तीमा २–१ को नतिजामा टुङ्ग्याउनका लागि बलियो चुनौती पेस गर्ने अपेक्षा गरिएको छ ।
यससँगै, नेपाली टोलीको मनोबल उच्च छ । आफ्ना समर्थकहरूलाई अर्को ऐतिहासिक जितको खुसी दिने लक्ष्यमा नेपाली खेलाडीहरू मैदानमा उत्रनेछन् । यदि आजको खेल पनि नेपालले जितेमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्को ठूलो उपलब्धि हुनेछ ।
Facebook Comments