'क्लिन स्वीप' गर्ने नेपालको सपना अधुरै : वेस्ट इन्डिजसँग १० विकेटले पराजित

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dc16bc59170.jpg

काठमाडौं । यूएईको शारजाहमा जारी युनिटी कप टी-२०आई शृंखला अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ । यद्यपि, नेपालले यसअघि नै लगातार दुई खेल जितेर शृंखला आफ्नो नाममा गरिसकेको छ ।

आजको खेलमा वेस्ट इन्डिज पूर्णरूपमा हावी बन्यो । नेपालले प्रस्तुत गरेको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले मात्र १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

वेस्ट इन्डिजका ओपनर अमिर जांगुले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा अविजित ७४ रन बनाए भने अर्का ओपनर अकिम अगस्टेले अविजित ४१ रनको योगदान दिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट हुन पुग्यो। नेपालले पावरप्लेमा विनाविकेट क्षति ३७ रनको राम्रो सुरुवात गरे पनि त्यसपछि लय गुमायो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन जोडे ।

वेस्ट इन्डिजका बलर रामोन सिमोन्ड्सले मात्र १५ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिँदै नेपाली ब्याटिङलाई ध्वस्त पारे । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक एक विकेट लिए ।


Facebook Comments