इलाममा भीषण पहिरो : दुई जनाको मृ*त्यु, कम्तीमा २२ बेपत्ता


काठमाडौं । इलाम जिल्लामा अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर दुई जना बालबालिकाको मृत्यु भएको छ भने प्रारम्भिक जानकारीअनुसार कम्तीमा २२ जना बेपत्ता भएको आशंका गरिएको छ ।
यद्यपि, भौगोलिक कठिनाइका कारण प्रहरीले तथ्याङ्क एकीन गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घरहरू पुरिएका छन् ।
इलाम न.पा.–६, घोसका डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा एउटै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ र तीन जना बेपत्ता छन् । दुई घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।
माईजोगमाई गाउँपालिका–६ स्थित बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका छन् । यस्तै सन्दकपुर गाउँपालिका–३, सुलुबुका कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् ।
माङ्सेबुङमा पनि पनि पहिरोमा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । तर स्थानीयले जनाएको कुल बेपत्ता संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिँदै क्षतिको संख्या एकीन गर्ने प्रयास भइरहेको बताइन् ।
Facebook Comments