रोशी खोलाले बगाएको बीपी राजमार्गको डाइभर्सन निर्माण सुरु


काभ्रे । असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन सुरु गरिएको छ ।
खोलाको बहाव केही कम भएपछि रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमानास्थित चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माण कार्य थालिएको हो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीले बगाएको डाइभर्सन पुनः निर्माण गर्न सडक डिभिजन कार्यालय भक्तपुर र स्थानीय तहहरूले समन्वय गरिरहेको जानकारी दिए ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले खोलाको धार भित्तासम्मै टाँसिएको र ठाउँठाउँमा क्षति भएकाले एकभन्दा बढी स्थानबाट सडक निर्माण थालिने योजना रहेको बताइन् ।
बीपी राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिकाका प्रमुखहरू र सडक डिभिजनका प्रतिनिधिबीच आवश्यक पुल निर्माण लगायतका कार्यमा विशेष पहल गर्ने सहमति भएको छ ।
रोशी खोला क्षेत्रमा गत वर्षको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्ष पुनः बगाएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
Facebook Comments