रौतहटमा खोलाले बगाएर बालकको मृ*त्यु, दुई बालिका बेपत्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3a7a92153f.jfif

चन्द्रपुर । रौतहटमा आज (सोमबार) नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ भने अन्य दुई बालिका बेपत्ता भएका छन् ।

राजपुर नगरपालिका–८, बलुवा गोठटोल बस्ने गोनवर मियाका १० वर्षीय छोरा अरवाज मियाको बकैया खोलाले बगाएर मृत्यु भएको हो ।

दिउँसो करिब २ बजे घर नजिकैको बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार, करिब ४० मिनेटपछि फेला परेका बालकलाई राजपुर प्राथमिक उपचार केन्द्र ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।

यसैबीच, आजै दिउँसो देवाही गुनाही नगरपालिका–६, कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् ।

कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँ बस्ने शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी दिउँसो करिब सवा २ बजेदेखि बेपत्ता भएका हुन् ।

उनीहरू खेतको भँगालोमा नुहाउन गएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको डीएसपी कार्कीले जानकारी दिए ।


Facebook Comments