पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सिरुवारीमा खसेको पहिरोका कारण कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
यो सडकले हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ र चीन तथा भारत जोड्ने महत्त्वपूर्ण मार्ग पनि हो ।
कालीगण्डकी नदीको तिरदेखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेको छ, जसका कारण बीचको सडकमा यातायात सञ्चालन गर्न समस्या भएको छ ।
यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार, सामान्य वर्षा हुनेबित्तिकै पहिरो खस्ने, सडक साँघुरो र हिलाम्मे हुने भएकाले जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने बाध्यता छ । सवारी गुडिरहेका बेला माथिबाट ढुङ्गा खस्ने जोखिम पनि छ ।
सिरुवारी पहिरो क्षेत्र साँघुरो भएकाले मुस्ताङ जाने/आउने यात्रुबाहक बस र ठूला कन्टेनरहरू (कोरला नाकाका लागि) जाममा पर्ने गरेका छन् ।
बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईंले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेर बर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गरिएको बताए । वर्षा रोकिएपछि पहिरो पन्छाएर दुईतर्फी गाडी चल्ने गरी सफाइ गरिनेछ ।
सिरुवारीमा ठूलो पहिरो भएकाले रोकथामका लागि अध्ययन भइरहेको र अन्य पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा सडक ढलानका लागि ठेक्का सम्झौताको तयारी भएको पनि जानकारी दिइएको छ ।
Facebook Comments