हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको संख्यामा बृद्धि

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb2f554f05b.jpg

सिमकोट । यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ ।  चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।

काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । 

सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले रु १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।

साढे ६ हजार विदेशी पर्यटक हुम्ला भित्रिए
चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

उनले भने, “अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।” मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो । 

मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । 

चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए । उनले भने, “मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट रु एक हजार १०० राजस्व सङ्कलन गर्दै आएको छभने अन्य देशका पर्यटकबाट रु एक हजार ५०० शुल्क लिने गरेको छ । 

मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट रु ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट रु छ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।

व्यस्त सिमकोट विमानस्थल सुनसान
पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ ।

जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ ।

मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो ।


Facebook Comments