जेनजी आन्दोलनका क्षतिपूर्तिमा बीमा कम्पनीहरूको सुस्त भुक्तानी, २३ अर्ब दाबीमध्ये २ अर्ब मात्र वितरण


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन् । जसको कुल मूल्य २३ अर्ब १९ करोड रुपैयाँ छ । तर, सो मध्ये ८।४२ प्रतिशत अर्थात् १ अर्ब ९५ करोड रुपैयाँ मात्र अग्रिम वा अन्तिम भुक्तानी भएको छ ।
सरकारले पीडित व्यवसायीलाई राहतस्वरूप ५० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था गरे पनि पुनर्बीमा कम्पनीबाट रकम नआएकाले अधिकांश बीमकहरूले भुक्तानीमा ढिलाइ गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी ५ अर्ब ४८ करोडको दाबी परेको र त्यसमा ७८ करोड भुक्तानी भएको छ भने दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये जम्मा ७१ लाख रुपैयाँ मात्र दिएको छ ।
कुल दाबी रकम पनि पछिल्ला हप्तामा घटेको छ । असोज ९ मा २३ अर्ब ३९ करोडबाट असोज २८ सम्ममा २३ अर्ब १९ करोडमा घटेको । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पेश्कीबापत १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराएको छ । विज्ञहरूका अनुसार यो घटना नेपालकै इतिहासको सबैभन्दा ठूलो “मास क्लेम” हो र यसले बीमा कम्पनीहरूको भुक्तानी क्षमतामा चुनौती र क्षेत्रको पुनर्संरचना आवश्यकतासमेत देखाएको छ ।
Facebook Comments