Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हेटौँडामा धमाधम हुँदैछ छठ पर्वको तयारी

राप्ती नदी किनार शृङ्गारियाे

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ८ गते १२:४१
Image of https://mayorsap.com/storage/photos/10/68fc7482506ca.PNG

हेटौँडा। तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा धमाधम छठ पर्वको तयारी सुरु भएको छ। तराई मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको हो।

हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा छठ पर्वका लागि राप्ती नदी किनार शृङ्गारिएको छ। संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम टेन्ट निर्माण भइरहेको छ भने पूजा गर्ने ठाउँमा सरसफाइ सम्याउने काम गरिएको हो।

हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ। तराईमा मात्रै मूल रूपमा मनाउँदै आएको यस पर्व हाल पहाडी क्षेत्रमा पनि भव्य रूपमा मनाउन थालिएको छ।

मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ। विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन्। छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबिचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ। यस वर्ष हेटौँडाको राप्तीतटमा ६२ हजार भक्तजन आउने आयोजकको अनुमान छ। सामूहिक रूपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो पनि गर्न सुरु गरिसकेका छन् । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँस र माटोबाट बनेका अन्य सामग्रीको किनमेल गरेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले जानकारी दिए।

कात्तिक ८ गतेबाट छठको पहिलो दिन व्रतालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ। तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने पूजा समापन हुने छठ पूजा समारोह २०८२ का संयोजक रविरंजन कुमार कलवारले जानकारी दिए। पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ ।


Facebook Comments