श्रद्धा, संयम र कृतज्ञताको उज्यालो महापर्व छठको महत्व

User Image प्रेमचन्द्र झा | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fe377d77040.jpg

नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो । यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ— सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ । यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ।

‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो । त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ।

पुराणहरूमा सूर्य उपासना र षष्ठी देवीको महिमा विस्तारले उल्लेख गरिएको छ। रामायणमा समेत श्रीराम र सीताले अयोध्या फर्किएपछि राज्यको कल्याणका लागि सूर्यदेवको आराधना गरेको प्रसङ्ग पाइन्छ । लोककथाअनुसार राजा प्रियव्रत र रानी मालिनीका सन्तान नहुँदा षष्ठी देवीको आराधनाले उनीहरूलाई सन्तान प्राप्त भयो, त्यसैबेला यो व्रतको परम्परा सुरु भएको मानिन्छ।

छठ व्रतको मुख्य उद्देश्य सूर्यदेव र छठी मइयाको आराधना गर्दै परिवारमा सुख, समृद्धि, दीर्घायु र स्वास्थ्यको कामना गर्नु हो । यस व्रतले श्रद्धालुलाई आत्म–संयम, शुद्धता र अनुशासनको बाटोमा लग्छ । व्रतालुहरू चार दिनसम्म अत्यन्त पवित्रता र कठोर नियमपालनसहित उपवास बस्छन्।

यो पर्व नेपालमा विशेषगरी मधेस प्रदेशमा गहिरो रूपमा प्रभाव जमाएको छ। जनकपुर, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरीका घाटहरूमा यो पर्वले जीवन्त रूप पाउँछ। नदी, पोखरी र तालका किनारमा हजारौँ श्रद्धालुहरूको भीड लाग्छ, लोकगीत गुन्जिन्छन्, दियोहरू बल्छन् र वातावरण भक्ति र सौन्दर्यले भरिन्छ।

छठ केवल धार्मिक कर्मकाण्ड होइनस यो सामाजिक एकताको पनि प्रतीक हो। यस पर्वमा महिलाहरू प्रमुख भूमिकामा रहन्छन्। परिवारका सुख–समृद्धिका लागि उनीहरूले कठोर उपवास र संयम अपनाउँछन्। यसरी महिलाको श्रद्धा र धैर्यले सम्पूर्ण परिवारमा आस्था र अनुशासनको वातावरण बनाउँछ। व्रतालुलाई ‘पवनैतिन’ भनिन्छ, र उनीहरूको तपस्या नै यो पर्वको आत्मा हो।

चार दिनसम्म मनाइने यो पर्व नहाय–खायबाट सुरु हुन्छ। पहिलो दिन बिहानै स्नान गरी घर र आँगन सफा गरिन्छ। परवैतिनले एकपटक मात्र शुद्ध भोजन ग्रहण गर्छिन्। दोस्रो दिन खरना हुन्छ, जसमा दिनभर उपवासपछि साँझ सूर्यास्तको बेला दूध, गुड र चामलले बनेको खीर र रोटी तयार गरी यस पर्वमा  पहिलो नैवेद सहित आराधना गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ‘संध्या अर्घ्य’ को विशेष पूजा हुन्छ। महिलाहरू पानीमा उभिएर सूर्यलाई दूध र जल अर्पण गर्छन्। घाटहरू दियो, फूल र फलफूलले सजाइएका हुन्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत तोडिन्छ। यो क्षण परिवारका सबै सदस्यहरूका लागि अपूर्व उल्लास र आशीर्वादको क्षण हुन्छ।

छठ पर्वको तयारीमा घरको सफाइदेखि घाट निर्माणसम्म सबै कार्य सामूहिक रूपमा गरिन्छ। बाँसका डोका, सूप, टोकरी, फलफूल, उखु, नारिवल, ठेकुवा, भुसुवा आदिको तयारीमा गाउँभर रौनक छाउँछ। महिलाहरू प्रायः पहेंलो वा सुन्तला रङको साडीमा सिँगारिन्छन्, जसले पवित्रता र सूर्यको तेज दुवै जनाउँछ।

मधेसका गल्ली–गल्लीमा यस समयमा लोकगीत र भजन गुन्जिन्छन् — “केरवा जे फरेली घउदे से” “अरे गंगा जल में”, “उठल भोर भइल भिनसरिया” जस्ता गीतहरूले भक्ति र भावना दुवैलाई एकसाथ जागृत गर्छन्। गीत, संगीत र भजनमा नाच्दै, गाउदै श्रद्धालुहरूले छठ मइयाको आराधना गर्छन्।

छठले पर्यावरणीय सन्देश पनि बोकेको छ। सूर्य, जल, माटो र फलफूलको पूजा गरेर यस पर्वले प्रकृतिप्रति सम्मान व्यक्त गर्छ। घाटहरू सफा गर्ने परम्पराले नदी र पोखरीको संरक्षणमा योगदान पुर्‍याउँछ। यस अर्थमा छठ केवल धार्मिक होइन, पर्यावरण–मित्र पर्व पनि हो।

अहिले छठ पूजा मधेसमा सीमित छैन। काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान र नेपालगञ्जमा समेत भव्य रूपमा मनाइन्छ। कृत्रिम पोखरीहरू र घाटहरू निर्माण गरी श्रद्धालुहरूलाई पूजा गर्न सहज बनाइन्छ । यसले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको छ। हिन्दु, मुस्लिम, बुद्ध, किराँत समुदायका मानिसहरू समेत सहभागी भएर यो पर्वलाई सामूहिक उत्सवको रूप दिन्छन्।

छठ पर्वको मर्म आत्म–संयम, श्रद्धा र कृतज्ञताको अभ्यासमा निहित छ। सूर्यदेव केवल आकाशका तेजका प्रतीक होइनन्, ज्ञान, सत्य र जीवनका पनि दाता हुन्। व्रतालुले आफ्नो शरीर र आत्मालाई शुद्ध पार्दै सूर्यप्रति धन्यवाद ज्ञापन गर्छन् — किनभने सूर्य बिना जीवन असम्भव छ।

नेपालका मधेसका घाटहरूमा जब अस्ताउँदो सूर्यको सुनौलो किरण जलमा झिलमिलाउँछ, हजारौँ दियोहरू एकैसाथ बल्छन् र लोकगीतको मधुर स्वर फैलिन्छ, त्यतिबेला छठको दृश्य केवल आस्थाको नभई सौन्दर्यको पनि प्रतीक बन्छ। त्यही क्षणमा आस्था र प्रकृति एकअर्कामा विलय हुन्छन्।

सूर्य षष्ठी व्रतले हामीलाई सिकाउँछ — जीवनमा अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मान बिना वास्तविक सुख सम्भव छैन। यो पर्वले परिवारमा प्रेम, समाजमा सहकार्य र राष्ट्रमा एकताको भाव जगाउँछ।

छठ अब केवल मधेसको पर्व होइन, सम्पूर्ण नेपालीहरूको साझा आस्था बनेको छ। यसले धर्म, संस्कृति र सहअस्तित्वको अद्भुत मिसाल प्रस्तुत गरेको छ। सूर्यका किरणजस्तै यो पर्वले देशभर उज्यालो फैलाइरहेको छ — श्रद्धा, संयम र कृतज्ञताको उज्यालो । साँचो अर्थमा छठ पर्व त्यो क्षण हो जब सूर्य आकाशमा मात्र होइन, मानिसको मनमा पनि उदाउँछ।


Facebook Comments