परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

'माओवादी केन्द्र चुनावको तयारीमा लागिसकेको छ'

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fdfedc9cef4.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। आज पत्रकारसँग बोल्दै उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए । 

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए। उनले भने, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ”,उनले भने,“मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।” 

संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे। यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक दाहालले भने। 


Facebook Comments