हेटौंडामा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

User Image दिक्षान्स खड्का | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ff6f95d2ad6.jfif

मकवानपुर ।  हेटौंडामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती पुल क्षेत्रमा ब्रतालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन् ।

छठ पर्व मनाउनुका लागि भक्तजनहरु आज ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकियामा राखी विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए ।

पुरुष र बालबालिकाहरू पनि नदी किनारमा उपस्थित भई परिवारसँगै पूजा–आराधनामा सहभागी बनेका थिए। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइन्छ । सो अवसरमा आज हेटौंडा बजार क्षेत्रमा भक्तजनको भीड लाग्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । 

भीडलाई व्यवस्थित बनाउन र फोहोर व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिका, प्रहरी र स्वयंसेवक युवाहरूले सहजीकरण गरेका थिए । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिपूर्वक समापन हुनेछ।


Facebook Comments