दलहरू बिना राष्ट्रियताको रक्षा असम्भव !

User Image देव गुरूङ | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/dev-gurung.jpg

जेन–जी आन्दोलनको सुरुवाती–भदौ २३ गतेको भ्रष्टाचार विरुद्धको नारा र २६ वटा सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवाको नारा सकारात्मक देखिएता पनि दोस्रो दिन–भदौ २४ गतेको ध्वंसात्मक परिघटनाहरूबाट राष्ट्रघाती प्रतिगामी षडयन्त्र अन्तर्निहित रहेको यथार्थता सार्वजनिक भैसकेको छ । यस परिघटनाबाट मुलुकको सुरक्षार्थ खटिएको नेपाली सेनाको भूमिका पूर्णतः निष्क्रिय रहेको र त्यसबाट नेपाल सुरक्षा हुन नसकेको यथार्थता पनि स्पष्ट भयो ।

यस स्थितिमा मुलुकको रक्षा गर्ने भनेको जनताको बल मात्र देखियो । जनताको अभिमत भनेको दलीय प्रणालीमा मुलत दलहरूमा केन्द्रित रहेको हुन्छ । त्यसमा पनि मुख्यतः ३ ठुला दलमा केन्द्रित देखिन्छ । ३ दलको पछाडि २०७९ सालको जनमतको आँकडा हेर्दा कुल खसेको करिब १ करोड ४ लाख मतमध्ये करिब ७० लाख मत ३ दलमा खसेको देखिन्छ ।

पछिल्लो समयमा राष्ट्रपतिमार्फत ३ ठूला दलको साथमा रहेको जनमतको भरमा मात्र मुलुकको रक्षा भएको देखिन्छ । किनभने मुलुकमा चलाइएको विध्वंसबाट विदेशी शक्ति केन्द्रहरूले नेपालमा सङ्कटकाल पैदा गराएर त्यसमार्फत अनमिनको व्यानेरमा पश्चिमा सेना नेपाल भित्राउने रणनीति सतहमा नदेखिएको होइन । तर उक्त रणनीति राष्ट्रपतिको पहल र ठुला दलहरूको राजनीतिक सहमतिबाट तत्काल तुहाइयो ।

२०७६ साल देखि एसपीपी सम्झौता गरी नेपालमा पश्चिमा विदेशी सेना ल्याउने पटक पटक दबाब नभएको होइन । उक्त सम्झौता माओवादी नेतृत्वको चातुर्य र दलहरू कै असहमतिले अड्केको जगजाहेर छ । यसरी सन्धि सम्झौता र सङ्कट काल, दुबै मार्गमा ३ दल नै मूल अवरोधक देखेपछि ती विदेशी साम्राज्यवादी शक्ति केन्द्रहरूले ३ दल र तिनका नेतामाथि आक्रमण नगरी विकल्प देखेनन् ।

राष्ट्रियताको मुद्दामा कलात्मक ढङ्गले वैचारिक नेतृत्व माओवादीले गरिरहेको भएता पनि सरकारको नेतृत्वको कारणले तीनै दल माथि आक्रमण गर्न छोडेन । आवरण भ्रष्टाचारलाई बनाए । मानिसमा सीमा रहित कोही हुँदैन । नेताहरू पनि मानिस नै हुन् । मानिस भए पछि स्वाभाविक सीमाहरू हुन्छन् नै । ती सीमाहरूबाट सुधार गर्ने हो, नेताहरूको निषेध होइन । तर नेताहरूमा जति सुकै सीमा भए पनि अन्तर्यमा कतै न कतै राष्ट्रियताको भावना रहिरह्यो ।

यही राष्ट्रियताको विचार र भावनामाथि नै विदेशी शक्ति केन्द्रहरूको आक्रमणको निशाना बन्यो । अन्यथा आर्थिक भ्रष्टाचारीको कुरा गर्ने हो भने नेपालमा थुप्रै अरबपतिहरू छन् । तिनीहरू माथि निशाना बनेको देखिँदैन । किनभने साम्राज्यवादको युगमा विश्व साम्राज्यवादको संरक्षणमा रहेको वित्तीय एकाधिकार दलाल पुँजीपति वर्ग र नेपाली जनता बिचको वर्गीय अन्तर्विरोध नै प्रमुख अन्तर्विरोधको रूपमा रहेको हुन्छ । यस वर्ग सङ्घर्षमा को कता वर्गीय पक्षधरता भन्ने हुन्छ । 

वर्गीय पक्षधरताको आधारमा साम्राज्यवादी शक्ति केन्द्रहरूले दलाल पुजिवादका पक्षधरहरूको संरक्षण र स्वाधीनताका पक्षधर देशभक्तहरूमाथि आक्रमण गर्नु वर्ग सङ्घर्षको शाश्वत नियम हो । यस स्थितिमा कमरेड माओले चिनिया सन्दर्भमा वर्ग दुस्मनले जो माथि आक्रमण गर्छ, उ सही हुन्छ र जसलाई रक्षा गर्छ, उ बिग्रेको हुन्छ भनी गरिएको विश्लेषण वर्ग चरित्र बुझ्ने र देखिने राम्रो ऐना हो ।

आज नेपालमा चलिरहेको वर्ग सङ्घर्षमा यस कोणबाट हेर्ने हो भने जसमाथि आक्रमण गरिएको छ । उ राष्ट्रियताको मुद्दामा अडान लिएको प्रमाण हो । जो ती देशभक्त नेताहरूका विरुद्ध उभिन्छन् । ती जान वा अनजानमा साम्राज्यवादको पक्षपोषण गरिरहेको सबुत प्रमाण हो । 

अतः वर्ग सङ्घर्षका हरेक सामाजिक परिघटनाहरूलाई वर्ग सङ्घर्षको मार्क्सवादी वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने जति सुकै जाली पर्दाको आवरणबाट छोप्न खोजिएता पनि ती ऐना झैँ छर्लङ्ग देखिँदो रहेछ ।


Facebook Comments