Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

पशुचौपाया पालन व्यावसायिक बन्न नसक्दा जीविकोपार्जन गर्न समस्या

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १६ गते ०८:५५
Image of https://mayorsap.com/storage/photos/shares/bhalkot.jpg

बागलुङ । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेट हुँदा निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।

गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठरअसारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् ।

बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताए ।

गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उनको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताए ।

‘यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन’, बोहराले भने, ‘अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँचरसात सय डिङ (बस्तुभाउ) हुन्थे, अहिले त धेरै कम भएका छन् ।’

स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाए । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उनको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बेसी झरेपछि छुट्टै बाँध्ने उहाँले बताउनुभयो । बेसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उनले सुनाए ।

घर्ती मगरले भने, ‘बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै पर्‍यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला ?, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।’

यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताए ।

घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताए । गाई धेरै पाल्दा बारीमा मल हुने उनको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाए ।


Facebook Comments