Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

छठ सकिएसँगै मधेशमा सामाचकेवाको रौनक, कसरी मनाइन्छ यो पर्व ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १६ गते १०:२९
Image of https://mayorsap.com/storage/photos/shares/samachakewa.jfif

सिरहा । छ्ठपर्व सकिए सँगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने पर्व हो ।

कार्तिक शुक्ल द्वितीया तिथि अर्थात् कार्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) लगायतका मुर्ति बनाउनका लागि माटोको जोहो गरी कार्तिक शुक्ल पञ्चमी देखि कात्तिक शुक्ल पूर्णिमाको मध्यरातमा सम्पन्न हुने गर्छ ।

यो पर्वका लागि दिदीबहिनीले माटोको विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कार्तिक  पूर्णिमाको मध्यरात्रिमा गाँउबाट पर जोतकोर गरेको खेतमा विशेष पूजापाठ गरी पर्व सम्पन्न गर्छन् ।

गाँउगाँउमा करिव दशजनाको समूह बनाएर माटोको जोहो गरी काँचो माटोले मानव, चरा र जनावरलगायतका कलात्मक मूर्ति बनाई समाको गीतमा दिदीबहिनीहरु झुमिन्छन् । 

काँचो माटोले बनाएको मुर्तीहरुलाई दुलही झै सजाएर पूर्णिमाको मध्यरातमा गाउँमा बाजा बजाउँदै (ढोल पिपही) छोरीलाई विदाई गरेझै गाउँबाट पर खेतसम्म लगेर विशेष पूजापाठ गरिन्छ । 

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिँदै सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका कुराहरु पनि गीतको माध्यमबाट सुनाउने गर्छन् ।  

धार्मिक मान्यता

भविष्य पुराणमा उल्लेख गरिए अनुसार सामाकी नोकरानी डिहुलीले सामा जतिखेर वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए।

सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मुर्ति बनाइन्छ ।  साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।

छठको खरना वा परनादेखि नै माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।

डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गितसंवाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । 

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । सामाचकेवाको गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थासँग अटुट सम्बन्ध देखिन्छ ।

 


Facebook Comments