काठमाडाैंमा ‘विश्व भिगन दिवस’ भव्यताका साथ सम्पन्न
मेयरसाप डेस्क
|
१७ घण्टा अगाडि
काठमाडौं । सर्वप्राणी करुणा र शाकाहार (भिगन) को प्रवद्र्धन गर्ने उद्देश्यसाथ काठमाडौँको बौद्धमा शनिबार ‘विश्व भिगन दिवस’ को सन्दर्भमा एक भव्य कला प्रदर्शनी र सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल एनिमल सेभ नामक संस्थाले बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजना गरेको यस कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता, कलाकार र विदेशी नागरिकहरूको उपस्थिति थियो ।
कार्यक्रम आयोजनाको मुख्य उद्देश्य बढ्दो पशुजन्य उद्योगले निम्त्याएको जलवायु परिवर्तनको चुनौती र पशुक्रूरता कम गर्नु रहेको आयोजकमध्येकी एक शोभा भुजेलले बताइन् । भिगन भनेका माछामासु, दही, दूध मात्र नभई तिनका छाला, हाड र प्वाँखसमेत प्रयोग नगर्ने पूर्ण शाकाहारी हुन् ।
कार्यक्रममा ४० भन्दा बढी चित्रकला (पेन्टिङ) प्रदर्शन गरिएका थिए । यी कलाकृतिहरूले पाल्तु तथा वन्य जनावरको पीडादेखि लिएर मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावसम्मका विषयवस्तुलाई चित्रण गरेका थिए ।
जनावर र पृथ्वीप्रति करुणाको आह्वान गर्ने यी चित्रकलाहरू कार्यक्रममै बढाबढमा बिक्री गरिएका थिए । बिक्रीबाट उठेको रकम प्राणी कल्याणका लागि प्रयोग हुने आयोजकले जनाएका छन् ।
कार्यक्रमको आकर्षणमध्ये ’आर्ट र एक्टिभिजम्’ शीर्षकको प्यानल छलफल पनि चलाइएको थियो, जसले कलालाई करुणा र जनावर अधिकार प्रवद्र्धनका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे विचार विमर्श गर्यो ।
मुख्य वक्ताहरूमध्ये प्राणी अधिकार अभियन्ता कृष्ण गुरुङले आफ्नो झन्डै तीन दशकको पूर्ण शाकाहारी यात्राबारे उल्लेख गर्दै जनावरहरूको कथा उजागर गर्ने डकुमेन्ट्रीमा काम गरिरहेको बताए ।
नेपाल भिगन ग्यालरीका संस्थापक समेत रहेका परम्परागत थाङ्का कलाकार रवि थापाले “दया धर्तीको अमूल्य निधी हो’ भन्ने विचार राखेका थिए । अभिनेत्री सरिता राजोपाध्यायले काजु, बदाम र भटमासबाट सहजै दही दूध बनाएर खान सम्भव रहेको बताइन् ।
शाकाहार तर्काधार लेखक रघु आदित्यले शाकाहारको दर्शन र नैतिक जीवनशैलीको महत्वबारे प्रस्तुति दिँदै सत्यको पक्षमा हामी बोलिरहनुपर्नेमा जोड दिएका थिए ।
आयोजक दिपेश श्रेष्ठका अनुसार, कार्यक्रमको उद्देश्य गैरमानव प्राणीको पीडा उजागर गर्नु र मानिसहरूलाई करुणामय जीवनशैलीतर्फ प्रेरित गर्नु हो । कार्यक्रमलाई उत्पला क्याफे र थ्राइभ फिलान्थ्रोपीले सहयोग गरेका थिए ।
Facebook Comments