दिक्तेल रूपाकोट मझुवागढीका नगरप्रमुखले आमाको स्मृतिमा स्थापना गरे अक्षयकोष
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।
शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् ।
नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्व आमा पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा रु दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिए । नगरप्रमुख भट्टराईका स्व आमा पदमकुमारीको गत वर्ष (विसं २०८१ कात्तिक १६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो ।
आफ्नो गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पुर्याउने उद्देश्यसहित परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताए। “समाजमा देखिने धार्मिक संस्कार र संस्कृतिमा अनावश्यक खर्च गर्ने चलन बसेको छ । भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ,” उनले भने, “आफ्नो संस्कार संस्कृति पनि जोगाउनुपर्छ । संस्कार संस्कृति जगेर्ना गर्दै शैक्षिक–सामाजिक रूपले अगाडि बढ्न सकियोस् भन्ने चाहनाले अक्षयकोष स्थापना गरिएको हो ।”
नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासनसँगको सहकार्य र अक्षयकोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिक रूपमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले जनाएको छ ।
Facebook Comments