जेनजी आन्दोलनमा खटिएका यी प्रहरी कमाण्डरहरुलाई उपत्यका नछोड्न निर्देशन

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/police.JPG
Photo: AFP

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । 

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको सचिवालयबाट कात्तिक १६  गते प्राप्त पत्रअनुसार आवश्यक कार्यार्थ उपत्यका प्रहरीलाई उक्त पत्र पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

प्रहरी प्रधान कार्यालयका प्रशासन शाखाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई आवश्यक कार्यार्थ पठाएको पत्रमा भनिएको छ, “सो सम्बन्ध (जेनजी आन्दोलन)मा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिका लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको छ ।” 

आयोग स्रोतका अनुसार काठमाडौं उपत्यका छाड्न नपाउने प्रहरी कमाण्डरहरु

एआईजी दानबहादुर कार्की (उपत्यका प्रहरी प्रमुख) 
डीआईजी ओमबहादुर राना (२३ गतेका निमित्त प्रमुख)
एसएसपी दीपसमशेर जबरा
एसएसपी नवराज अधिकारी (उपत्यका ट्राफिक प्रमुख) 
एसएसपी विश्व अधिकारी (काठमाडौं प्रमुख)
एसपी सुरेश काफ्ले (सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख)
डीएसपी सुन्दर तिवारी (फिल्ड कमाण्डर)
एसएसपी श्यामकृष्ण अधिकारी (ललितपुर प्रहरी प्रमुख)
डीएसपी हेमन्त भण्डारी क्षेत्री (अपरेशन कमाण्डर) 
एसपी माधव बुढाथोकी (भक्तपुर प्रहरी प्रमुख)
डीएसपी ढुण्डीराज न्यौपाने (अपरेशन कमाण्डर)
डीएसपी एलिजा गिरी (संसद भवन कमाण्डर)
नगर प्रहरी प्रमुख मन्जिल मुकारुङ  

वृत्त प्रमुखहरुमा 
डीएसपी जयश्वर रिमाल (बौद्ध) 
डीएसपी सुकदेव खनाल (गौशाला)
डीएसपी राजकुमार श्रेष्ठ (दरबारमार्ग)
डीएसपी ज्ञानबहादुर विष्ट (बालाजु)  
डीएसपी कृष्णकुमार चन्द (जनसेवा) 
डीएसपी रमेशकुमार पाल (जगाते) 
डीएसपी रामकुमार यादव (सातदोबाटो)
डीएसपी दीपकसिंह भाट (स्वयंभु)
डीएसपी राजबाबु महर्जन (कीर्तिपुर)
डीएसपी यमकुमार श्रेष्ठ (चापागाउँ)   

महाराजगन्जका डीएसपी निरन्जन थापा तालिमका क्रममा अमेरिकामा रहेकाले निमित्त प्रमुख इन्स्पेक्टर सुदर्शन पन्थीका हकमा स्थानहद लागु हुने आयोग स्रोतले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी प्रहरी परिसर लगायत कार्यालयका केही इन्स्पेक्टर, वरिष्ठ सई र सईहरु पनि उपत्यका छोड्न नपाउनेमा परेका छन् ।

यसअघि नै उपत्यकाबाहिर गएका ती कमाण्डरलाई तत्काल काठमाडौं झिकाउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको स्रोतले जनायो । 


Facebook Comments