६ वर्षपछि हेटौंडामा 'एन्फा प्रेसिडेन्ट लिग २०२५' हुँदै

User Image दिक्षान्स खड्का | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/htd.jfif

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुने भएको छ । एन्फाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

उनका अनुसार एन्फा फुटबल विकास कार्यक्रम अन्तर्गत एन्फामा आबद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

लिगमा कोशी प्रदेशबाट गाईघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौँ र टाइगर्स टिम दोलखा, गण्डकीबाट हैरान्स क्लब तनहु र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनीबाट जनजागृति युवा क्लब बर्दिया, सुदूरपश्चिमबाट विजय स्पोर्टस् क्लब कैलाली र कर्णालीबाट काँक्रेविहार युथ क्लव सुर्खेत सहभागी छन् ।

उनका अनुसार प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ जना गरी ५ जना खेलाडी समावेश गर्न पाउँदा विदेशी खेलाडी भने राख्न नपाउने भएको छ । लिगको सेमिफाइनलमा पुग्ने चार टोलीहरुले यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा समेत सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । यस प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङको लागी हेटौंडा उपमहानगरभित्र २ वटा खेल मैदानको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहको छ । 


Facebook Comments