हेटौंडामा एमालेको जनप्रदर्शनले सडक अस्तव्यस्त, एम्बुलेन्स पनि रोकियो जाममा
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते ०१:३९
हेटौंडा । नेकपा (एमाले) हेटौंडा नगर कमिटीद्वारा आयोजित जनप्रदर्शन कार्यक्रमअन्तर्गत आज बिहान हेटौंडा बजार क्षेत्रबाट निस्किएको र्यालीका कारण हेटौंडाको सडक अस्तव्यस्त बनेको छ।
संविधानको रक्षा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित गरिएको जनप्रदर्शन करिब एक घण्टा लामो समयसम्म चलेको थियो। भीडका कारण हेटौंडाका मुख्य चोकहरूमा सवारीसाधनहरू रोकिँदा सडकमा ठूला जामको अवस्था सिर्जना भएको थियो। बुद्धचोक, ओम भवन, पुष्पलालचोक र बसपार्क क्षेत्र लगायतका स्थानमा सवारीको अत्यधिक चाप देखिएको ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।
ट्राफिक प्रहरीले कडाइका साथ व्यवस्थापन गरेको भए पनि सडक साँघुरो र भीड बढी भएकाले जाम नियन्त्रणमा समस्या भएको जनाएको छ। जामका कारण ‘इमर्जेन्सी’ सेवामा प्रयोग हुने एम्बुलेन्ससहितका निजी र सरकारी सवारीसाधनहरू समेत प्रभावित भएका थिए।
प्रदेश राजधानीको मुख्य सडक नै साँघुरो भएका कारणले राजनीतिक कार्यक्रम र कोणसभाका बेला बारम्बार सडक अवरुद्ध हुने गरेको स्थानीयबासीहरूको गुनासो छ।
एमालेको कार्यक्रममा करिब दुई सय जना सहभागी भए पनि सम्पूर्ण सडक नै भीडले ढाकिँदा सर्वसाधारणलाई आवागमनमा कठिनाइ भएको थियो। करिब एक घण्टा लामो सवारी जामका कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेका र व्यापारिक गतिविधि समेत प्रभावित भएको बताइएको छ।
स्थानीयहरूका अनुसार, राजधानी हेटौंडाको सडक संरचना पुरानो र साँघुरो भएकाले अहिलेको जनघनत्व र सवारी संख्याका लागि पर्याप्त छैन। यस्ता राजनीतिक र सामाजिक कार्यक्रमका बेला वैकल्पिक र व्यवस्थित ट्राफिक योजना नअपनाइने हो भने भविष्यमा सडक जाम अझ गम्भीर समस्या बन्न सक्ने उनीहरूको भनाइ छ।
Facebook Comments