भाडा नतिरेपछि दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दिपक खड्काले काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा बनाएको संरचना काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । खड्काको स्वामित्वमा रहेको ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ले भोगचलन गरिरहेको जग्गामा बनेको संरचनामा आज बिहान काठमाडौं महानगरले डोजर चलाएको हो ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले २० कात्तिकमा सूचना जारी गरेर भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो । सो म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् ।
खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ सालमा ३ रोपनी जग्गा भाडामा लिएको थियो । ३ रोपनी जग्गा भाडामा लिए पनि करिब १२ रोपनी जग्गा प्रालिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको थियो।
उक्त जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्टको संरचना बनाइएको छ । स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ ।
समयमा जग्गा भाडा भुक्तानी नगरेपछि २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त जग्गा र त्यहाँ बनेको भवनलगायत संरचनामा सिलबन्दी गरेको थियो।
सिलबन्दी पश्चात् पनि खड्का ल्याण्ड प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा दायर गरी पटक–पटक मुद्दा फिर्ता गरी बहाल चुक्ता नगरेकाले अपूरणीय क्षति पुगेको स्काउटले जनाएको छ।
Facebook Comments